एसिया कप क्रिकेट अन्तरगत भारत र पाकिस्तानबीचको आइतबारको खेल वर्षाले रोकिएको छ । भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा सुरु भएको थियो ।
तर, मौसम नखुलेपछि खेल रद्ध थरेर सोमबारका लागि खेल स्थगित गरिएको हो ।
खेल श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा खेलिएको थियो । यसअघि भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।
हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ । ५५ खेलमा भारत विजयी भएको छ । यी दुई राष्ट्रबीच खेलिएको बाँकी खेल भने अनिर्णित भएका थिए ।
घरेलु मैदानमा पाकिस्तानले १४ र भारतले ११ खेल जितेका छन् । यसैगरी भारतीय भूमिमा पाकिस्तानले १९ खेल जितेको छ भने पाकिस्तानी भूमिमा भारतले ११ खेल जितेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा पाकिस्तानले ४० खेल जितेको छ भने भारतले ३३ खेलमा सफलता हात पारेको छ ।