Logo

शुक्रवार, भाद्र १९ गते २०८३

१२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न थालियो, अध्यक्ष चौधरीद्वारा उद्घाटन

१२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न थालियो, अध्यक्ष चौधरीद्वारा उद्घाटन

नयाँ लहर

२०, श्रावण २०८३
१२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न थालियो, अध्यक्ष  चौधरीद्वारा उद्घाटन

काठमाडौँ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आफ्नो महत्त्वाकांक्षी आयोजना १२८ मेगावाट क्षमताको ‘तमोर–मेवा जलविद्युत परियोजना’ को सुरुङ खन्ने कार्य (टनेल ब्लास्टिङ) औपचारिक रूपमा सुरु गरेको छ।

 ताप्लेजुङको फुङ्लिङमा आयोजित एक विशेष समारोहका बीच बुधबार सुरुङको विस्फोटक उत्खनन (ब्लास्टिङ) गरिएसँगै आयोजना निर्माणको भूमिगत कार्यले गति लिएको हो ।
कम्पनीका अध्यक्ष एवं प्रबन्ध सञ्चालक सुदिप कुमार चौधरीले सुरुङ खन्ने कार्यको उद्घाटन गरे। ब्लास्टिङ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो केवल ढुङ्गा फुटाउने कार्य मात्र नभएर नेपालको ऊर्जा सुरक्षा र समृद्धिका लागि बलियो जग बसाल्ने कदम भएको बताए। उनले भने, “तमोर–मेवा आयोजनालाई निर्धारित समयमै उच्च गुणस्तरका साथ सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ। यो आयोजनाले स्थानीय समुदाय र राष्ट्रकै आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउनेछ।”

आयोजनाको सुरुङ ब्लास्टिङ हुनुभन्दा केही समय अघि मात्रै कम्पनीले आफ्नो २६औँ वार्षिक साधारण सभा समेत सफलतापूर्वक सम्पन्न गरेको थियो । अध्यक्ष चौधरीकै अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आयोजनाको वित्तीय र भौतिक प्रगतिबारे शेयरधनीहरूलाई विस्तृत जानकारी गराएको थियो।

कुल २,३०४ करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) यसअघि नै टुङ्गिसकेको छ। आयोजनामा १,७२८ करोड रुपैयाँ ऋण लगानी र ५७६ करोड रुपैयाँ शेयर पुँजी रहनेछ। ऋण लगानीका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइ र माछापुच्छ्रे बैंक लिमिटेडको सह–अगुवाइमा वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भइसकेको छ। 

ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिका क्षेत्रमा फैलिएको यस आयोजनाबाट वार्षिक करिब ७११ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने लक्ष्य छ। कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०८० असोज २४ गते नै विद्युत खरिद–बिक्री सम्झौता गरिसकेको छ। सम्झौता अनुसार आयोजनाले २०८५ असोज २५ गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गर्नुपर्नेछ।

भौतिक प्रगतिका सन्दर्भमा अध्यक्ष चौधरीले आयोजनाका लागि आवश्यक अधिकांश जग्गा खरिद गरिसकिएको र पहुँच मार्गको स्तरोन्नति सम्पन्न भएको जानकारी दिए। हाल आयोजना स्थलमा हेडवर्क्स (बाँध क्षेत्र), सुरुङको प्रवेशद्वार र विद्युत गृह (पावरहाउस) सम्मको सडक सञ्जाल तयार भइसकेको छ। सिभिल निर्माणतर्फ बालुवा थिग्राउने पोखरी र सुरुङको प्रवेशद्वारको उत्खनन सुरु भइसकेको छ। यस्तै, विस्फोटक पदार्थ भण्डारणका लागि आवश्यक पर्ने नेपाली सेनाको आवास र बंकर निर्माण कार्य आगामी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको इलेक्ट्रोमेकानिकल पक्ष पनि महत्त्वपूर्ण चरणमा पुगेको छ। टर्बाइन र जेनेरेटर लगायतका मुख्य उपकरणहरूको डिजाइन र उत्पादन प्रक्रिया अगाडि बढिसकेको कम्पनीले जनाएको छ। स्थानीय सरकार र समुदायको पूर्ण समर्थन प्राप्त भएकाले निर्माण कार्यमा कुनै अवरोध नभएको र आगामी दिनमा मुख्य संरचनाहरूको निर्माणलाई अझ तीव्र पारिने प्रतिबद्धता अध्यक्ष चौधरीले व्यक्त गरे।

ब्लास्टिङ समारोहमा फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमा देवी ओझा, वडा अध्यक्षहरू र स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। उनीहरूले आयोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना र पूर्वाधार विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। 

स्पार्क हाइड्रोले वातावरणीय र सुरक्षाका मापदण्डलाई पूर्ण पालना गर्दै निर्धारित समयमै आयोजना सम्पन्न गर्ने अठोट लिएको समेत जनाएको छ।

 

प्रकाशित मिति :श्रावण २०, २०८३ बुधवार - २१:२७:०९ बजे

नयाँ लहर