Logo

शुक्रवार, भाद्र १९ गते २०८३

आर्थिक वर्षको दुई महिनामै बढ्यो व्यापार असन्तुलन 

आर्थिक वर्षको दुई महिनामै बढ्यो व्यापार असन्तुलन 

नयाँ लहर

३०, आश्विन २०८१
आर्थिक वर्षको दुई महिनामै बढ्यो व्यापार असन्तुलन 

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामै देशको व्यापारमा असन्तुलन देखिएको छ । नेपालको आयातमुखी अर्थतन्त्रका कारण आयात बढेको छ भने निर्यात उल्लेख्य हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति झल्काउने रिपोर्टमा दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी रु.२५ अर्ब ९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । 

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको रिपोर्टमा उल्लेख छ । यद्यपि वस्तुगत आधारमा चिया, पार्टिकल बोर्ड, पिना, जुत्ता तथा चप्पल, सोयाविन तेल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जिंक शिट, पाम तेल, तयारी पोशाक, जडिबुटी लगायतका वस्तुको निर्यात घटेको छ । 
तर, दुई महिनाकै अवधिमा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्घि भई रु.२६२ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्घि भएको छ । 
वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स्, खाने तेल, रासायनिक मल, दूरसंचार उपकरण तथा पार्ट्स, लसुन लगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस.विलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ । 

निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, मेची, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले वृद्घि भई रु.२३७ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.२९ अर्ब ९३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.३२ अर्ब १४ करोड बराबरको भएको थियो । 

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५३.२ प्रतिशत र ४५.६ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् १.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.१ प्रतिशत, ०.२३ प्रतिशत र ४५.६ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.७ प्रतिशत, पुँजीगत वस्तुको ८.६ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२.८ प्रतिशत, ९.१ प्रतिशत र ३८.१ प्रतिशत रहेका थिए । 

यस्तै समीक्षा अवधिमा खुद सेवा आय रु.२८ अर्ब २० करोडले घाटामा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.२५ अर्ब २३ करोडले घाटामा रहेको थियो । 

यस्तै भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य प्रतिशत तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो । 

वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफुलको ४.९४ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन । 
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले बढेको छ । 

यस्तै प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ । 

यसैगरी समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत, तराईको ४.०९ प्रतिशत, पहाडको ३.६१ प्रतिशत र हिमालको ४.१९ प्रतिशत रहेको छ । २०८० भदौ महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत, ७.०३ प्रतिशत, ८.०९ प्रतिशत र ११.३२ प्रतिशत रहेको थियो । 

यस्तै भदौ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.३९ प्रतिशत, ३.५६ प्रतिशत र २.७७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२२ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख छ । 

यसैगरी सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.१ प्रतिशतले वृद्धि भई रु.१० अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९ अर्ब ४० करोड रहेको थियो । 

यस्तै समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय २२.२ प्रतिशतले वृद्धि भई रु.४३ अर्ब ४९ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.२८ अर्ब १६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.३५ अर्ब ५९ करोड रहेकोमा शिक्षातर्फको व्यय रु. २३ अर्ब ३३ करोड रहेको थियो । 

यस्तै महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ को दुईमहिनामा नेपाल सरकारको कुल खर्च रु.१३७ अर्ब ५५ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.८२ अर्ब ९९ करोड, पँुजीगत खर्च रु.१४ अर्ब ८९ करोड र वित्तीय व्यवस्था खर्च रु.३९ अर्ब ६७ करोड रहेको तथ्यांकमा उल्लेख छ । 

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.१६६ अर्ब ३९ करोड पुगेकोछ । यस अन्तर्गत कर राजस्व रु.१४५ अर्ब १९ करोड र गैर कर राजस्व रु.२१ अर्ब १९ करोड परिचालन भएको छ 

यस्तै भदौ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२६९ अर्ब ५३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको बैंकले जनाउको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.९१ अर्ब ७८ करोड रहेको थियो। 

समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च रु.५ अर्ब ५५ करोड र स्रोत परिचालन रु.२२ अर्ब २३ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.१७ अर्ब ४७ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.४ अर्ब ७६ करोड रहेको रिपोर्टमा उल्लेख छ । 

यसैगरी आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा कुल आन्तरिक कर्जा ०.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.४ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ भदौमसान्तमा यस्तो कर्जा ६.३ प्रतिशतले बढेको छ । 

यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.३५ अर्ब ३ करोड (०.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.७ अर्ब ५६ करोड (०.१ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.८ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । 

यस्तै भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत, विकास बैंकहरुको १०.८९ प्रतिशत र वित्त कम्पनीहरुको १२.१४ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत, विकास बैंकहरुको १३.९९ प्रतिशत र वित्त कम्पनीहरुको १४.६८ प्रतिशत रहेको थियो । 

प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - ०८:१७:१९ बजे

नयाँ लहर