आज २०८० भदौ २७ देखि एचिभमेन्ट मिडिया प्रालिद्वारा प्रकाशित नेपाली भाषाको अनलाइन समाचार पोर्टल नयाँलहर डटकम (www.nayalahar.com) औपचारिक रूपमा पाठकको सेवामा हाजिर भएको छ ।
अनलाइन पत्रकारिताको भीडमा हामी कुनै उत्पात मच्चाउन आएका होइनौँ । यसो भन्दैमा हामी भीडमा हराउन पनि आएका होइनौँ । हाम्रो प्रयास पत्रकारिताको गरिमालाई उँचो राख्दै समाजलाई सत्य, तथ्य र निष्पक्ष सूचना, समाचार र विश्लेषण प्रवाह गर्ने हुनेछ ।
नेपालमा सरकारको नियामक निकाय प्रेस काउन्सिल नेपालमा सूचीकरण भएका अनलाइन सञ्चारमाध्यमको संख्यामात्रै ४ हजार १ सय भन्दा बढी छन् । मिडिया खुल्ने लहरका बीच पाठकलाई छानिछानी पढ्ने सुविधा रहेको सन्दर्भमा नयाँलहर डटकमलाई विश्वसनीय बनाउँदै पाठकको रोजाइमा पार्ने गरी समाचार सामग्री पस्कने हाम्रो मुख्य ध्येय छ ।
हामी युवाका कुरा, परिवर्तनका कुरा, विकास र समृद्धिका कुरा, स्थायित्व र सुशासनका कुरालाई महत्त्व दिनेछौँ । समाजमा लुकेका र लुकाइएका पात्र र विषयलाई टिपेर प्रस्तुत गर्न प्रयासरत हुनेछौँ । बेथिति र कुशासनकोविरुद्ध हामी खरो रूपमा उत्रिने छौँ भने राम्रो गर्नेलाई प्रोत्साहित गर्दै असल समाज र देश निर्माणमा सहयोगी भूमिका खेल्नेछौँ । असल नियत बोकेका नयाँ र पुराना पुस्ताबीच काँधमा काँध मिलाएर अघि बढे समाज, समुदाय र समग्र देश बन्ने तथा त्यसले समग्र देशमै नयाँलहर सिर्जना हुने हाम्रो बुझाइ छ ।
हामी धेरै कुरा भन्दा पनि काममा विश्वास गर्छौँ । सीमित स्रोत साधनका साथ हामी जति सक्छौँ राम्रो गर्ने प्रयास गर्नेर्छौँ । देशभित्र र बाहिरका समग्र समाचार, फिचर, विचार, अन्तरवार्तालगायत एकै प्लेटफर्ममार्फत हामी पस्किँदै जानेछौँ । साथसाथै प्रविधिको विकाससँगै हाम्रो प्राथमिकता मल्टिमिडियातर्फ पनि रहनेछ । हाम्रो प्रयासलाई आदरणीय पाठक, शुभेच्छुक र विज्ञापनदाताले साथ दिने विश्वासका साथ नयाँलहर डटकममा यहाँहरुलाई स्वागत गर्दछौँ ।
एचिभमेन्ट मिडिया परिवार