काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा निस्कने तयारीमा जुटेका छन् ।
अमेरिका भ्रमणपछि प्रधानमन्त्री न्युयोर्कबाटै चीनका लागि प्रस्थान गर्ने तयारीमा जुटेका प्रधानमन्त्रीले त्यसअघि आवश्यक तयारी गरिरहेका छन् । नेपालको कूटनीति कमजोर बन्दै गएको टिप्पणी भइरहेका बेला प्रमले गल्तीबाट पाठ सिक्दै चुस्त कूटनीति अपनाउन चाहेको बताइन्छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाने तय भइसकेको छ । महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन् ।
मुख्यसचिव बैकुण्ठ अर्यालका अनुसार २४ सदस्यीय टोली अमेरिका जाने तय भएको छ । यो समूहमा प्रधानमन्त्रीको निजी सचिवालयबाट मात्रै १० जना हुने छन् ।
अमेरिकाको भ्रमणलगत्तै एसियाली खेलकुदको छेको पारेर चीन जाने तयारीमा रहेका प्रधानमन्त्रीले आफ्नो भ्रमणलाई फलदायी बनाउन तयारी तीव्र बनाएका छन् । यसअघिदेखि नै लगानी बोर्डको बैठक राखेर पूर्वाधारको क्षेत्रमा तयारी गरेका प्रचण्डले राष्ट्रिय योजना आयोग र विभिन्न मन्त्रालयहरुसँग पनि नेपालको तर्फबाट उठाउनुपर्ने विषयमा सुझाव मागिरहेका छन् ।
सोही क्रममा प्रधानमन्त्रीले आइतबार एकैदिन सरोकारवालासँग घनीभूति छलफल गरेका छन् । आइतबार साँझ पूर्व राजदूत, पूर्व परराष्ट्र सचिव र परराष्ट्र बिज्ञ लगायतसँग सिंहदरबारमा छलफल गरेका प्रधानमन्त्रीले बिहान पनि पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व परराष्ट्रमन्त्रीहरुको सर्वदलीय बैठक गरेका थिए ।
गत जेठमा भारत भ्रमण गरेका प्रधानमन्त्रीको भ्रमणको तयारी राम्रो नभएको समेत कतिपयले टिप्पणी गरेको बेला प्रधानमन्त्रीले यस पटकको चीन भ्रमणमा सबै तयारीलाई चुस्त राख्ने योजना बनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बिहानको छलफल सहभागीहरुले छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड दिनुपर्ने सुझाव दिएका थिए । यस्तै विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुवै देशले एकअर्काको सुरक्षालगायत दुईपक्षीय चासोका विषयमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्नेलगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताए ।
‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो’, प्रचण्डको भनाइ थियो, ‘ यहाँ तपाईंले जुन सुझाव दिनुभएको छ । प्राप्त सुझाव महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।’
सरकारले दुवै छिमेकीका साथै विश्वसमुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्ट्याउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए ।
संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपिल गर्ने पनि प्रधानमन्त्रीले जानकारी दिएका थिए ।
कूटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसङ्घको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताउँदै भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने जानकारी दिए ।
छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी थिए ।
यस्तै, परराष्ट्रमन्त्री एनपी साउद, नेताहरू महन्थ ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा विमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याललगायत सहभागी थिए ।
परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशको विश्वास जित्नेगरी नेपालले कूटनीतिक पहलकदमी लिनुपर्ने धारण राखे ।
उनले दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्रीले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने बताए । उनले छिमेकी देशले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थाल्नुले झनै चिन्ता थपिएको बताए ।
यसैगरी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरू मागेको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताए ।
उनले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भन्ने शङ्का चिनियाँहरूले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताए ।
यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको असंलग्न परराष्ट्र नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।
केसीले राष्ट्र र जनताको स्वार्थलाई शिरोपर गरे प्रस्तुत हुन सुझाव दिँदै देशको राष्ट्रियता र अखण्डतालाई केन्द्रमा राखिनुपर्ने धारणा राखे ।
यस्तै आइतबार साँझको छलफलमा पूर्वराजदूतहरु टंक कार्कीसहित वरिष्ठ कूटनीतिज्ञहरुको सहभागिता रहेको थियो । छलफलका क्रममा उनीहरुले देशको हितलाई केन्द्रमा राखेर सन्धि सम्झौता गर्न आग्रह गर्दै नेपालको कमजोर कूटनीति भइरहेकोतर्फ पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइएको छ ।