काठमाडौँ । सुनको गहनाको खरिद बिक्री हुँदा जर्तीको नाममा चलखेल हुने गरेको दाबी गरिएको छ । नेपालमा दैनिक १०० किलो हाराहारीमा सुनको गरगहनाको किनबेच हुने अनुमान गरिन्छ । यस हिसाबले व्यवसायीहरुले जर्तीको नाममा मनपरी गर्ने गरेको पाइएको हो ।
हालै राजधानीको चर्चित सुन पसल रिद्धि सिद्धि ज्वेलर्सले जर्ती भनेर ग्राहकसँग कुनै शुल्क नलिने घोषणा गरेसँगै यो विषय प्रकाशमा आएको छ । उक्त सुनचाँदी पसलले जर्तीको कुनै शुल्क नलिने मात्र सुनको गहना बनाएबापत ७ प्रतिशत मात्रै शुल्क लिने भनेपछि व्यवसायी तरंगितमात्रै बनिरहेकै बेला उनीहरुले गर्दैआएको ब्रह्मलुटबारे पनि बाहिरिएको हो।
व्यवसायीहरुका अनुसार एक तोला (१०० लाल) सुनको गहना बनाउँदा जर्तीको नाममा १० –१२ लाल सुन कटाउने गरिन्छ । जवकि सुन बनाउँदा त्यति खर्च नै हुँदैन । तर, उनीहरुले बर्षौँदेखि यसरी जर्तीको नाममा असुल्दै आएको धन्दामा रिद्धि सिद्धि बाधक बनिदिएपछि हलचल मच्चिएको हो । यतिमात्रै होइन दैनिक १०० किलो सुन कारोबार हुन्छ भने जर्तीको नाममा मात्रै यसहिसाबले १० किलो खर्च हुने देखिन्छ । यसरी जर्तीको नाममा मात्रै ३६५० किलो सुन वार्षिक हावामा जान्छ कि ढलमा भन्दै सिद्धि सिद्धिका सञ्चालक नरेन्द्र गुप्ता बताउँछन् ।
श्री रिद्धि सिद्धिले जर्तीको विषयमा नयाँ नीति लिँदै घोषणा गरेपछि असार २ गते नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले एक संयुक्त विज्ञप्ति जारी गर्यो । उक्त विज्ञप्ति सुनको जर्ती नलिने घोषणा गर्ने श्री रिद्धि सिद्धि ज्वेलर्ससँग नै सम्बन्धित थियो । विज्ञप्तिमा गहना व्यवसायीहरुलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य भएको भन्दै महासंघहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
राज्यले गहना व्यवसायको संचालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका आदि जारी नगरेको विद्यमान अवस्थामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुले आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्दति अनुरुप मुलुकभर व्यवसाय संचालन एवं यस सम्बन्धि विषयहरु व्यवस्थापन हुँदै आएकोमा त्यसरी फर्म विशेषले आँफू खुशी ‘धमाका अफरहरु’ दिएर गरिने प्रचारले राज्य, आम उपभोक्ताका साथै यस क्षेत्रमा संलग्न व्यवसायी एवं कालीगढबीच विश्वासको संकट पैदा गराउने स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।
मजदुरको पारिश्रमिक, निर्माण क्षति जर्ती, ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरु जारी भएको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार नेपाल राष्ट्र बैंकको सुन आयात तथा विक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बापत १० प्रतिशत थप शोधभर्ना दिने नियम रहेको उल्लेख छ । यस्तै टक्सार विभागमा सिक्का टकमरी गर्दा पनि ७.२ प्रतिशत जर्तिको व्यवस्था रहेको उल्लेख छ । यी व्यवस्थाहरूलाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना विक्री गर्ने भन्नु सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट रहेको महासंघहरुको दाबी छ ।
अर्जुन रसाईली, किसान सुनार, प्रचण्ड शाक्यको उक्त विज्ञप्तिपछि रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र गुप्ताले भने आफ्नो कदम उपभोक्तामैत्री भएको भन्दै निर्णयमा पुनर्विचार नहुने स्पष्ट पारे । उनले अब आफूहरुले जर्तीको शुल्क नलिने भन्दै तयारी गहना ७ प्रतिशत शुल्कमै उपभोक्तालाई दिने घोषणा गरिसकेका छन् । यसअघि १२ प्रतिशत शुल्क भएपनि आफूहरुले ७ प्रतिशतमै ग्राहकलाई सेवा दिनेगरी असार १५ गतेसम्मका लागि अफर ल्याएको उनको भनाइ छ । असार १५ पछि पनि जर्ती बापत भनेर ग्राहकसँग असुल नगर्ने उनको भनाइ छ ।
सुनचाँदी व्यवसायीबीच बढ्दो विवादका बीच उनले अन्य व्यवसायीलाई चुनौती दिँदै यस्तो अफर ल्याएपछि व्यवसायीहरु तरंगित बन्दै विज्ञप्ति जारी गर्नेसम्मको अवस्थामा पुगेका हुन् । उसो त गुप्ताले कोटाको सुनको सुनमा बेथिति रहेको भन्दै विगतदेखि नै विरोध गर्दै आएका थिए ।
‘अस्वाभाविक तरिकाले सरकारले १५ बाट २० प्रतिशत भन्सार दर पु¥याइएको छ । सुनको मूल्य पनि अस्वाभाविक बढेको छ । उपभोक्तालाई असारको महिनामा छुट दिनलाई मैले ७ प्रतिशत ज्यालामा गहना दिने भनेको छु’, गुप्ताले भने, ‘यो आपत्तिको विषय होइन । समर्थनको विषय हो। तीन वटा महासंघले जुन विरोध गरेको छ, यो विरोधका लागि विरोधमात्रै हो । यिनीहरुकनठ लेटरप्याडको दुरुपयोग भएको छ ।’
उनले पहिला १२ प्रतिशत ज्याला रहेपनि अहिले आफूले ७ प्रतिशतमा ल्याउँदा प्रतिस्पर्धी व्यवसायीले आपत्ति जनाउनुको कुनै अर्थ नहुने उल्लेख गर्दै भने, ‘उपभोक्तालाई छुट नदिनुस् भनेर भन्न पाइँदैन, यसो नगर्न मेरो आग्रह छ ।’