मलेसिया । गैरआवासीय नेपाली संघको (एनआरएनए) को आगामी अक्टोबरमा हुने महाधिबेशनका लागि आइसिसि उपाध्यक्षमा खगेन्द्र न्यौपानेलाई पठाउने निर्णय एनआरएनए एनसीसी मलेसियाले सर्वसम्मतरुपमा निर्णय गरेको छ । यस्तै एसिया प्यासिफिक संयोजक (आरसी) मा हरिप्रसाद भट्टराई अघि बढाइने भएको छ ।
एनआरएनए मलेसियाको बैठकले केन्द्रीय उपाध्यक्षमा न्यौपाने र आरसीमा भट्टराईलाई उठाउने निर्णय गरेको हो ।
न्यौपाने हाल एनआरएनको सचिव छन् भने भट्टराई एसिया प्यासीफिक उपसंयोजक रहेका छन् । एनआरएनए मलेसियाले आइसीसीमा आफ्नो देशको प्रतिनिधित्व होस् र आफ्ना मुद्धालाई बुलन्द बनाउनका लागि यस्तो निर्णय गरेको जनाइएको छ ।
एनआरएनए मलेसियाका १ सय ६७ जना डेलिगेट्स रहेकोले एनआरएनएको नेतृत्वका सवालमा मलेसियाको महत्वपुर्ण भुमिका रहन्छ ।
एनआरएनए मलेसियाले आगामी कार्यकालका लागि बिनोद थापाको नेतृत्वमा सहमतीमा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । वैदेशिक रोजगारको मुख्य गन्तब्य रहेको मलेसियालाई एनआरएनए बृतमा छुट्टै महत्वका साथ हेरिन्छ ।
एनआरएनए आईसिसिका सचिव न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष, अध्यक्ष, आईसिसि सदस्य, एशिया प्याशिफिक सह–संयोजक भएर सँस्थामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् ।
न्यौपानेले मध्यपुर्व, मलेसिया, कोरिया, युरोपलगायत देशमा रहेका लाखौ नेपालीहरुको मुद्दा उठाउन, उनीहरुको समस्याको समाधान गर्न, रेमिट्यान्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैको नेपाली कायम राख्न लगायतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन् ।