Logo

शुक्रवार, भाद्र १९ गते २०८३

आर्यघाटबाट फर्किएपछि नेम्वाङबारे ओलीको स्मरण, त्यसपछि उत्तेजित भएका थिए सुवास

आर्यघाटबाट फर्किएपछि नेम्वाङबारे ओलीको स्मरण, त्यसपछि उत्तेजित भएका थिए सुवास

नयाँ लहर

२८, भाद्र २०८०
आर्यघाटबाट फर्किएपछि नेम्वाङबारे ओलीको स्मरण, त्यसपछि उत्तेजित भएका थिए सुवास

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङबारे संविधान जारी गर्ने बेलामा खेलेको भूमिकाबारे स्मरण गरेका छन् । 

२०७२ सालमा संविधान जारी हुने कि नहुने भन्ने अन्योलताका बीच नेम्वाङमा त्यतिबेला निकै छटपटीपन आफूले पाएको ओलीले बताएका छन् । 
‘प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ’, ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौं । अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो । विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समुहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए ।’

 नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार त्यतिबेला खेपेको ओलीको स्मरण छ ।  संविधानसभाका सधैं शान्त रुपमा प्रस्तुत हुने नेम्वाङ त्यो दिन कडा रुपमा प्रस्तुत भएको ओलीले स्मरण गरेका छन् । 

‘दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दवाव थियो’, ओलीको भनाइ छ, ‘भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आउनु भयो । उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै वर्वाद हुने छ । यस्तो भयो भने त देश नै सकिन्छ ।’’  
असोज तीन गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ नेम्वाङ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु नभनेको आफूले जानकारी पाएको ओलीले उल्लेख गरेका छन् । 

‘नआउन पनि सक्ने देखें, के गर्ने होला ?’ नेम्वाङको त्यतिबेलाको भनाइ उदृत गर्दै ओलीले भनेका छन् । ‘सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनु भएको रहेछ’, ओलीले भनेका छन्, ‘उहाँलाई मैले तपाईं तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौंला भनें ।’

ओलीले यसरी संविधान जारी भएपछि नाकबन्दी भएको उल्लेख गर्दै अन्तिममा भनेका छन्, ‘हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !’ 
मंगलबार हृदयघातका कारण निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । 

ओलीको भनाइ हुबहु-

प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौं । अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो । विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समुहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए । नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार खेपीरहेका थियौं ।  संविधानसभाका सधैं शान्त रुपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रुपमा प्रस्तुत हुनु भएको थियो । दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दवाव थियो । भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिंदै मलाई भेट्न आउनु भयो । उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै वर्वाद हुने छ । यस्तो भयो भने त देश नै सकिन्छ ।’  
उहाँ असोज तीन गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखें, के गर्ने होला ?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनु भएको रहेछ । उहाँलाई मैले तपाईं तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौंला भनें ।
हुन पनि संविधान जारी भएपछि नाकबन्दी भयो । हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !

प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - १९:५१:५२ बजे

नयाँ लहर

सम्बन्धित समाचार