काठमाडौं । नेपाल र माल्टाबीच पर्यटन, व्यापार, शिक्षा र लगानी प्रवर्द्धनका विषयमा महत्वपूर्ण छलफल गर्दै उच्चस्तरीय द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। माल्टाको उपप्रधानमन्त्री तथा परराष्ट्र तथा पर्यटन मन्त्रालयको आयोजनामा भएको बैठकमा नेपालका पर्यटन दूत प्रकाश भण्डारीको प्रमुख सक्रियता देखिएको थियो।
व्यक्तिगत कारणवश माल्टाका उपप्रधानमन्त्री तथा परराष्ट्र तथा पर्यटन मन्त्री स्वयं उपस्थित हुन नसके पनि पूर्व युरोपेली आयोग सदस्य तथा माल्टाका वरिष्ठ राजनीतिज्ञ कर्मेनु भेल्ला सहितका उच्च अधिकारीहरूको सहभागिता रहेको यो बैठकलाई सफल संवादका रूपमा हेरिएको छ।
बैठकमा पर्यटन क्षेत्रको प्रवर्द्धन, आयात–निर्यात व्यापारको विस्तार, नेपाली लगानीकर्ताहरूलाई सहजीकरण, र माल्टा टुरिज्म अथरिटीसँग सहकार्य गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने विषयमा गहन छलफल भयो। साथै “स्किल्स पास” कार्यक्रम अन्तर्गत नेपाली हस्पिटालिटी विद्यार्थीहरूलाई माल्टामा इन्टर्नशिपको अवसर प्रदान गर्ने सम्भावनाबारे विशेष चासो व्यक्त गरिएको थियो।
नेपालका प्रतिनिधिका रूपमा रहेका पर्यटन दूत प्रकाश भण्डारीले नेपालको तर्फबाट माल्टासँग समग्र सहकार्य विस्तारको खाका प्रस्तुत गरे। सो क्रममा नेपाली सांस्कृतिक सम्पदा ‘खुकुरी’ माल्टाका अधिकारीहरूलाई मायाको चिनोस्वरूप प्रदान गरिएको थियो।
भण्डारीको सक्रिय भूमिकाले नेपाल–माल्टा सम्बन्धलाई व्यवहारिक साझेदारीमा रूपान्तरण गर्ने दिशातर्फ ठोस कदम अघि बढेको विश्वास गरिएको छ। उनले नेपाललाई पर्यटन, व्यापार र शैक्षिक अवसरहरूमा माल्टामा अझ मजबुत रूपमा स्थापित गर्न प्रतिबद्धता जनाएका छन् ।