काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र झण्डै चार वर्षदेखि जकडिएको आन्तरिक विवाद, गुटबन्दी र विभाजन अन्ततः अन्त्य भएको छ। मार्च १४ देखि १६ सम्म आयोजना गरिएको संघको १२औँ महाधिवेशनले विश्वभरका नेपालीहरूलाई एउटै मालामा गाँस्दै ऐतिहासिक एकताको सन्देशसहित नयाँ नेतृत्व चयन गरेको हो। यस सुखद मोडसँगै एनआरएनएले आफ्नो इतिहासमा नयाँ अध्यायको सुरुवात गरेको छ।
यो ऐतिहासिक एकता सम्भव हुनुमा विगतमा विभाजित रहेका विभिन्न पक्षका मुख्य अभियन्ताहरूको ठूलो त्याग र संयमताले काम गरेको छ। विशेषगरी पूर्वअध्यक्ष आर.के. शर्मा, विनोद कुँवर, निवर्तमान अध्यक्ष महेश श्रेष्ठ र बद्री केसी लगायतका पात्रहरूको निरन्तर प्रयास र संस्थाप्रतिको अटल समर्पण नै यस मिलनविन्दुको मुख्य कडी बनेको हो। हिजोका दिनमा जानेर वा नजानेर संस्था विभाजनको कारक बनेका तिनै पात्रहरू आज संस्थालाई पुनः जीवित र एकीकृत बनाउने सूत्रधारका रूपमा उभिएका छन्। यसले एनआरएनएभित्र परिपक्वता र नेतृत्वको जिम्मेवारी बोधको नयाँ उदाहरण प्रस्तुत गरेको छ।
विभाजनको चरम अवस्थामा समेत आर.के. शर्माले देखाएको धैर्यता र व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई शिरोपर गर्ने प्रवृत्ति यस एकताको निर्णायक आधार बन्यो। शर्माले नेतृत्वको होडबाजीमा लाग्नुभन्दा पनि सबै पक्षलाई एउटै टेबलमा ल्याएर संवादको वातावरण बनाउन अहोरात्र खटिए। उनले निरन्तर रूपमा ‘संस्था नरहे हाम्रो अस्तित्व रहँदैन’ भन्ने भावनाका साथ टुटेका सम्बन्धहरूलाई जोड्ने अभियान चलाइरहे, जसको सुखद परिणाम आज सिङ्गो गैरआवासीय नेपाली समुदायले देख्न पाएको छ।
एनआरएनएको १०औँ महाधिवेशनदेखि सुरु भएको विवादले ११औँ महाधिवेशनसम्म आइपुग्दा संस्थालाई निकै कमजोर र बदनाम बनाएको थियो। विभिन्न समूहबीचको अविश्वास र नेतृत्व हत्याउने होडबाजीले गर्दा विश्वभरका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू समेत विभाजित भएका थिए। यस्तो अन्योलग्रस्त र साख खस्किएको अवस्थामा आर.के. शर्माले एकताको सूत्रधारको भूमिका निर्वाह गर्दै सबै पक्षलाई समेट्ने पहल गरे। सर्वोच्च अदालतको परमादेशपछि बनेको विशेष परिस्थितिमा समेत उनले आफूले पाएको अध्यक्षको अवसरलाई त्यागेर महेश श्रेष्ठको नाममा सहमति जुटाउँदै एकताको पहिलो चरण पार गरेका थिए। त्यही त्याग र दीर्घकालीन सोचले नै आज १२औँ महाधिवेशनलाई भव्य र एकीकृत रूपमा सम्पन्न गराउन सफल बनाएको हो।
यस महाधिवेशनबाट एनआरएनएले नयाँ र ऊर्जावान नेतृत्व पाएको छ। डा. हेमराज शर्माको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। जसमा वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन, प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपाने, महासचिवमा डा. चिरञ्जीवी खड्का र कोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सिना लगायतका पदाधिकारीहरू रहेका छन्। नयाँ नेतृत्वको काँधमा अब विभाजित रहेका एनसीसीहरूलाई पुनः एकताबद्ध गर्ने र विश्वभरका लाखौँ नेपालीहरूको विश्वास पुनः आर्जन गर्ने गरुङ्गो जिम्मेवारी आएको छ।
पूर्वअध्यक्ष आर.के. शर्माले यस एकतालाई सामूहिक प्रयासको उपजका रूपमा व्याख्या गरेका छन्। उनले फाटिएका मनहरूलाई जोड्दै सबै समूहलाई एकजुट हुन र संस्थाको गरिमा बढाउन अपिल गरेका छन्। एकताको प्रक्रियामा भएका उतारचढाव र विभिन्न आरोह-अवरोहका क्रममा आफ्ना शब्द वा व्यवहारले कसैको चित्त दुखेको भए उनले सार्वजनिक रूपमा क्षमायाचना समेत गरेका छन्। उनले यस उपलब्धिलाई केवल एउटा पदको प्राप्ति नभई विश्वभर रहेका नेपालीहरूको साझा भावना र पहिचानको पुनर्जागरण भएको बताएका छन्।
एनआरएनएको यो ऐतिहासिक एकता केवल संगठनात्मक पुनर्मिलन मात्र होइन, यो प्रवासी नेपालीहरूको शक्ति र सामर्थ्यको प्रदर्शन पनि हो। चार वर्षको अन्धकारपछि झुल्किएको यो एकताको घामलाई डगमगाउन नदिन र संस्थालाई अझ सशक्त बनाउन शर्माले विश्वभरका नेपालीहरूलाई आग्रह गरे। नयाँ नेतृत्व र एकीकृत संरचनाले आगामी दिनमा गैरआवासीय नेपालीका मुद्दाहरूलाई सरकारसँग बलियो गरी उठाउने र समृद्ध नेपाल निर्माणमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।