काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५-२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आइतबार जापानको टोकियोमा आयोजित एक विशेष समारोहका बीच ‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उनले १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्। आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने संघको १२औँ विश्व सम्मेलनलाई लक्षित गर्दै शेरचनले संस्थाभित्रको विभाजन अन्त्य र सुदृढीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
जापानलाई कर्मभूमि बनाउँदै आएका शेरचनले ‘एक मन, एक संगठन’ को अवधारणा अघि सार्दै संस्थाभित्रको आन्तरिक कलह अन्त्य गरी सबैलाई एउटै छानोमुनि ल्याउने संकल्प गरे। उनको प्रतिबद्धता पत्रमा गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयन, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था, र भूतपूर्व गोर्खाहरूको समान पेन्सनको मुद्दाले प्राथमिकता पाएको छ। त्यस्तै, आर्थिक एजेन्डा अन्तर्गत एनआरएनए डेभलपमेन्ट फन्डलाई २५ अर्बको बनाएर साना लगानीकर्ता र श्रमिकहरूलाई आईपीओ मार्फत जोड्ने तथा म्यानमार र थाइल्याण्डका नेपाली मूलका समुदायलाई एनआरएन कार्ड उपलब्ध गराउने योजना उनले अघि सारेका छन्।
कार्यक्रममा एनआरएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठले संघलाई अहिले रोबिन शेरचन जस्तो विवादरहित र सबैलाई समेट्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताए। श्रेष्ठले विभाजित संस्थाका कारण गुमेको विश्वास फर्काउन र नेपालको आर्थिक समृद्धिमा एनआरएनको लगानी सुरक्षित गर्न शेरचनको स्वच्छ छवि उपयुक्त हुने उल्लेख गरे। उनले १० अर्बको फण्डलाई कार्यान्वयनमा लैजाने र नागरिकता सम्बन्धी ऐनलाई अधिकारमुखी बनाउन सरकारसँग भइरहेको पहलका बारेमा पनि जानकारी दिए।
पूर्वअध्यक्ष भवन भट्टले लिखित सन्देशमार्फत शुभकामना दिएको उक्त समारोहमा विश्वभरका एनआरएनए अभियन्ता, आईसीसी तथा एनसीसीका पदाधिकारीहरू र जापानस्थित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो। एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले स्वागत गरेको कार्यक्रममा सहभागी वक्ताहरूले शेरचनको समन्वयकारी भूमिकाले संस्थालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए।