कोशी प्रदेशका प्रमुख परशुराम खापुङले प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कोशी प्रदेश सभाका सदस्य हिक्मत कुमार कार्कीलाई प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।
सर्वोच्च अदालतको परमादेश पछि नियुक्त भएका उनलाई शुक्रबार नै पद तथा गोपनियताको शपथ गराइएको छ ।
त्यसैगरी मुख्यमन्त्रीकार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रीपरिषद् गठन भई कार्यविभाजन पनि भएको छ ।
कार्यविभाजन अनुसार हिक्मत कुमार कार्की मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।
यसैगरी तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जा, स्वास्थ्य मन्त्री, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण मन्त्री, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री र सृजना राई सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।
मन्त्रीहरूलाई प्रदेश प्रमुखबाट र राज्यमन्त्रीलाई मुख्यमन्त्रीबाट पद तथा गोपिनयताको शपथ ग्रहण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।