चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाइ–भाउजू प्रवृत्ति हाबी भएको भन्दै त्यसले पार्टीलाई उँभो लाग्न नदिएको टिप्पणी गरेका छन् ।
मंगलबार नेपाली काँग्रेस चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता केसीले कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको तर्फ सङ्केत गरे ।
‘पार्टीका दाइभाउजुले भनिसके अब मान्नु पर्छ भनेर सत्यलाई बन्धकी राख्ने कार्यकर्ता वा नेता कायर वा दास हुन् यिनीहरूबाट पार्टी उँभो लाग्दैन ।’ नेता केसीले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले पछिल्लो समय नेपालमा नेताहरूको प्रवृत्ति लोकतान्त्रिक नभएको र पार्टी भित्रको प्रवृत्तिले नै काँग्रेस कमजोर भएको स्पष्ट पारे । विचार लिएर अन्य जुनसुकै पार्टी आउन सक्ने भए पनि अरू पार्टी कमजोर भएर नेपाली काँग्रेस बलियो हुन नसक्ने बताए ।
‘लोकतन्त्र एउटा प्रकृयाको नाम हो प्रद्धति हो, नेपाली काँग्रेस विचार नमिल्नेहरुसँग पनि सँगसँगै जानुपर्छ भन्ने मान्यता राख्छ । तर पछिल्लो समय नेपालमा नेताहरूको प्रवृत्ति लोकतान्त्रिक नभएको र पार्टी भित्रको प्रवृत्तिले नै काँग्रेस कमजोर भएको हो । विचार लिएर नयाँ पार्टी आउन सक्छ अरू कमजोर भएर काँग्रेस बलियो हुँदैन, अरुको घर भत्केर आफ्नो बलियो हुँदैन ।’ उनले भने ।
पछिल्लो समय धार्मिक द्वन्द्व बढ्दै गएको बताउँदै त्यसलाई समयमै सरकारले समाधानको पहल गर्नुपर्नेमा जोड दिए ।
‘हामीले बुझ्नु पर्छ जनप्रियतावादबाटै हिटलर जन्मेका हुन् तसर्थ यथार्थ र आदर्शबाट मात्रै देश चल्छ । बहुजातीय, बहुसांस्कृतिक र धार्मिक सहिसुष्णता भएको देशमा धार्मिक द्वन्द्वको खतरा बढ्दै छ । त्यसलाई राज्यले समयमै समाधानको पहल लिनुपर्छ ।’ उनले भने ।
त्यसैगरी पछिल्ला चर्चित काण्डहरूसहित वाइडबडी यति ओम्नीसम्मका काण्डसम्म छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए । साथै गाउँगाउँबाट भ्रष्ट्राचार विषयमा विरोध कार्यक्रम अगाडि बढाउँदै काँग्रेस अगाडी बढ्नुपर्छ नत्र भष्टचारीको रक्षक काँग्रेस भएको आरोप लाग्ने बताए ।
कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु टेकप्रसाद गुरुङ, उमा रेग्मी, जिल्ला सभापति राजेश्वर खनाल, पूर्व सभापतिहरु जितनारायण श्रेष्ठ, बिकास कोईराला, बागमति प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशी लगायतको उपस्थिती रहेको थियो ।