काठमाडौँ । न्याय परिषद्ले देशभरका उच्च अदालतका कार्यरत रहेका २६ न्यायाधीशको सरुवा गरेको छ। मंगलबार प्रधानन्यायाधी विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले पाटन उच्च अदालतबाट ८ जना न्यायाधीशको उपत्यका बाहिर सरुवा गरेको छ ।
जसअनुसार धिरबहादुर चन्द, जनक पाण्डे, श्यामजी प्रधान, धुव्रराज नन्द, हरिप्रसाद पौडेल, राज्यलक्ष्मी बज्राचार्य, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी र रामेश्वर रेग्मी उपत्यका भन्दा बाहिर सरुवा भएका छन् ।
यस्तै विशेष अदालतका रितेन्द्र थापा, रामबहादुर थापालाई कायमै राखिएको छ । त्यस्तै वासुदेव आचार्यलाई उच्च अदालत विराटनगरबाट सरुवा गरेर श्रम अदालत काठमाडौँको अध्यक्ष बनाएको छ ।
त्यस्तै देशभरका जिल्ला अदालतमा कार्यरत रहेका ६५ जना न्यायाधीशको सरुवा पनि परिषद्ले गरेको छ । परिषद्का सचिव यमबहादुर बुढामगरकाअनुसार बैठकले २ सचिवको सरुवा र २ जनालाई सचिव बढुवा गर्ने निर्णय पनि गरेको छ ।
जसअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।
कानुन मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। यस्तै प्रधानमन्त्री कार्यालयका सचिव लिला गड्तौला मुख्यसचिव भएपछि रिक्त रहेको उक्त सचिव पदमा गौतमलाई सरुवा गरिएको हो ।
आयोगको बैठकले आलोकचन्द्र श्रेष्ठलाई बढुवा गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । उनी रक्षा मन्त्रालयमा सहसचिवको रूपमा रहेका थिए । त्यस्तै पाराश्वर ढुङ्गानालाई नेपाल कानुन आयोगको सचिवको रूपमा बढुवा गर्दै पदस्थापन गरेको छ । उनी नेपाल कानुन आयोगमै सहसचिवको रूपमा रहेका थिए ।
न्याय सेवा आयोगमा अध्यक्षको रूपमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ छन् भने सदस्यको रूपमा कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, महान्यायाधिवक्ता रमेश बडाल र सदस्यसचिवको रूपमा न्याय परिषद्का सचिव बुढामगर रहेका छन् ।