काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये १७ जनाको शव आफन्तले बुझेका छन् । शुक्रबार ४ जना र शनिबार १३ जनाको शव आफन्तले बुझेका हुन् । दुर्घटना ज्यान गुमाएका एक जना विदेशीको शव भने आफन्तले बुझ्न बाँकी रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
मृतक विदेशीको प्रक्रिया पु¥याएर शव व्यवस्थापन गरिने प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शवपरीक्षण तीन दिन लगाएर गरिएको थियो ।
बुधबार सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ को मृत्यु भएको थियो । सोही दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल भएका छन् । दुर्घटनामा घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा लगेर सघन उपचारकक्षमा उपचार गरिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज दुर्घटनापछि जहाजमा लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको थियो । दुर्घटनामा को–पाइलट सुशान्त कटुवालको मृत्यु भएको छ ।
यस्तै विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ । आरिफ यमनका विदेशी नागरिक हुन् ।
विमान नियमित मर्मतका लागि पोखरा जाने क्रममा थियो । २ वर्षमा गर्नुपर्ने नियमित मर्मतका लागि प्राविधिक र कर्मचारीसहितको टोली लिएर विमान काठमाडौँबाट पोखराका लागि उडेलगत्तै दुर्घटना भएको हो ।