Logo

शुक्रवार, भाद्र १९ गते २०८३

दुई दलीय सिस्टमको चर्चा

दुई दलीय सिस्टमको चर्चा

नयाँ लहर

१३, श्रावण २०८१
दुई दलीय सिस्टमको चर्चा

काठमाडौँ । विभिन्न कम्युनिस्ट घटकहरुले कांग्रेस र एमाले मिलेर दुई दलीय सिस्टम ल्याउने षड्यन्त्र गरेको दाबी गरेका छन् । उनीहरुले देशलाई दुई दलीय सिस्टममा लैजाने उद्देश्यका साथ संविधान संशोधनलाई अगाडि बढाउन एमाले र माओवादी मिलेको टिप्पणी गरेका हुन् । 

एमालेकै कतिपय नेताहरुले दुई दलीय सिस्टमको वकालत गर्दै आएका छन् भने यही बीचमा संविधान संशोधनको एजेण्डासहित कांग्रेस एमाले मिलेपछि अन्य केही दल दुई दलीय सिस्टको त्रासमा रहेका हुन् । 

शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित प्रवचन गोष्ठीमा पनि सहभागीले यस्तै आशय व्यक्त गरे । सो क्रममा उनीहरुले कम्युनिस्ट पार्टीहरु एकजुट भएर विभिन्न षड्यन्त्रलाई चिनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनबाट नै संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयास भइरहेको जिकिर गरे । 
 

संविधान सभाबाट संविधान बनिसकेपछि पनि यो संविधानका मूलभूत प्रस्तावनालाई बदल्न खोज्ने, समावेशितालाई समानुपातिकतालाई, संघीयतालाई र गणतन्त्रको प्रगतिशील पक्षलाई कमजोर पार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनभित्र देखा परेको उनको भनाइ छ । संविधानलाई कुल्चिन चाहने, संसद्लाई अवैधानिक ढङ्गले विघटन गर्न चाहने प्रवृत्तिसँग पनि संघर्ष गरेको बताउँदै उनले संसद्को पहिलो र दोस्रो ठुलो दल स्वाभाविक मान्न नसकिने बताए । 

प्रचण्डले भने, ‘संविधान संशोधन गर्नु नै हुँदैन भन्ने होइन । महिला तथा अन्य उत्पीडित समुदायलाई अधिकार अझै पुगेको छैन, त्यसको अधिकारलाई बढोत्तरी गर्नुपर्छ भनी नोट अफ डिसेन्ट लेख्ने पार्टीको नाताले हामी संविधान संशोधनको पक्षमा छौँ ।’
तर संविधान संशोधनको नाममा प्रतिगमनतिर लगेर अधिकार र पहिचानलाई खोस्ने दुस्साहस हुँदैछ भनेर आफूहरूले त्यसको विरोध गरेको उनले प्रष्ट पारे । उनले भने, ‘सडकमा पलेटी कसेर भए पनि जनताको साथमा रहेर उनीहरूको दुस्साहसलाई पुरा हुने दिने छैनौँ ।’

संविधान संशोधनको विरोधी आफूहरू नरहेको बताउँदै उनले संविधान सभाबाट बनेको संविधानले नेपालको सार्वभौमिकता, राष्ट्रियतालाई बाहेक अन्य सबै विषयलाई संशोधन गर्न मिल्ने व्यवस्था रहेको र अझै प्रगतिशील संविधान बनाउन यसलाई संशोधन गर्न सकिने बताए । सबै राष्ट्रवादी र देशभक्तहरूलाई एकै झन्डामुनि ल्याउने प्रयास भइरहेको बताउँदै उनले सच्चा कम्युनिस्टहरू त्यसमा पछाडि हट्न नहुने बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको विषयमा बहस गर्न आवश्यक रहेको बताए । ‘संविधान संशोधनका लागि बहस र छलफल हुनुपर्ने तर यहाँ गुपचुपमा संविधान संशोधन गर्ने कार्य हुन गइरहेको छ’ उनले भने, ‘त्यसको आवश्यक किन प¥यो ?’ अध्यक्ष नेपालले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलोमेलो हुन लागेको आशङ्का समेत व्यक्त गरे । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस् भनी सचेत गराउँदै उनले नेपाली जनताले सुशासन र देशलाई समृद्ध बनाउन चाहेको र यसको लागि बहस हुनु आवश्यक रहेको बताए ।  

नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै नेपालले नेपाली समाजवादका बारेमा चर्चा गर्नु आवश्यक रहेको बताए । अध्यक्ष नेपालले नेपालीपनको समाजवाद हुनुपर्नेमा जोड दिँदै त्यो व्यवहारिक हुनुपर्नेमा जोड दिए । यसका लागि व्यापक बहस र छलफलको आवश्यकता रहेको समेत उनले बताए ।

अध्यक्ष नेपालले पुष्पलालले जसरी कम्युनिस्ट पार्टीलाई अगाडि बढाउने सिद्धान्तलाई पछ्याउँदै जानुपर्ने समेत  बताए । पुष्पलालबाट आफूहरूले धेरै कुरा सिक्नुपर्ने रहेको बताउँदै उनले राजनीतिमा चुनौतीहरू आउने र त्यसको सामना गर्दै जानुपर्ने बताए ।

यसैगरी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरे । सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको उनको जिकिर छ । 

यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए । कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीहरूमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाई थियो । अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीहरूले भने मुलुकमा दुःख पाउनुपरेको बताए ।

यसैगरी नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने बताए ।  मुलुकलाई शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएकाले त्यसका लागि सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने प्रस्ताव आफूले राख्नु परेको उनको भनाई थियो । 

पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका कम्युनिस्ट पार्टीका नेताहरू सहभागी रहेको सो कार्यक्रममा संयोजक गौतमले कम्युनिस्ट पार्टीहरू फुट्दै जाने कुरामा समाजवाद निर्माण गर्न नसकिने भएकाले पनि सबै कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए । 

उनले केही कम्युनिस्ट पार्टीहरूबिच केही भिन्नता भए बसेर हल गर्न सकिने उल्लेख गर्दै समाजवाद निर्माण गर्ने लक्ष्य प्राप्तका लागि पनि सबै कम्युनिस्ट पार्टीहरूबिच एकता भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

यस्तै नेकपा एमालेका नेता भीम रावलले कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन नसकेकोमा दुःख प्रकट गरे ।  नेता रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर चुनाव लडेको देख्दा आफूलाई आश्चर्य लागेको बताए ।

प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - ०८:२९:११ बजे

नयाँ लहर

सम्बन्धित समाचार