काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रहरी चौकीमा हुने पञ्चायती लगायतका न्यायनिरूपणको कार्यले नेपालमा कानुनी शासनको मजाक बनाएको टिप्पणी गरेका छन् ।
‘देशका विभिन्न प्रहरी चौकीमा जुन पञ्चायती हुने गरेका छन् । के त्यो कानुन सम्मत छ ? के ती पञ्चायतीहरु वैध हो ? उनले नेपाल सरकारलाई प्रश्न गर्दै भने, ‘नेपाल प्रहरीको क्षेत्राधिकार के हो ? के यस्तो न्यायनिरुपण गर्ने अधिकार प्रहरीलाई छ ? छैन भने कसरी यस्तो खुलेआम काम भइरहेको छ ?’
यस्तो कार्यले कानुनी शासनमाथि नै प्रश्न उठेको उनको भनाइ छ । सरकारले देशमा सुशासन र कानुनको शासन लागू गर्ने हो भने प्रहरीमा पनि लागू हुुनपर्ने उनको धारणा छ । गाउँघरमा घटना हुँदा त्यसको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको भएको तर क्षेत्राधिकार बाहिर गएर प्रहरीले न्याय निरुपण र दण्ड जरिवाना गरेर बाँडिचुँडि खाइरहेको आरोप लगाए । यसरी सुशासन कायम हुन नसक्ने भन्दै साहले यसमा सुधार जरुरी रहेको बताए ।
‘सबैलाई थाहा छ, प्रहरीको काम अनुसन्धान गर्नु हो । सरकारी वकिलको काम अभियोजन गर्नु हो र अदालतको काम न्याय निरुपण गर्नु हो’, उनले भने, ‘तर, आज सबै काम प्रहरी चौकीले गरिदिन्छ ।’ अहिले स्थानीय तहमार्फत समेत न्याय निरुपण गर्न सकिने भएपनि प्रहरी नै हाबी भइरहेको उनको दाबी छ ।
उनले सुशासन मजाक बनिरहेको भन्दै प्रहरीभित्रका इमानदार अफिसरहरुलाई सुधारका लागि लागिपर्न समेत आग्रह गरे । सुशासन कायम गर्नका लागि प्रहरीको ठूलो भूमिका हुने भएकाले सोही अनुसार लागि पर्न गृह प्रशासनसहित सम्बन्धितलाई साहको आग्रह छ ।