Logo

शुक्रवार, भाद्र १९ गते २०८३

राप्रपाका अबको बाटो :  सदनमा हिन्दु राष्ट्रको पक्षमा विशेष प्रस्ताव, सडकमा सङ्घर्ष

राप्रपाका अबको बाटो :  सदनमा हिन्दु राष्ट्रको पक्षमा विशेष प्रस्ताव, सडकमा सङ्घर्ष

नयाँ लहर

१६, भाद्र २०८०
राप्रपाका अबको बाटो :  सदनमा हिन्दु राष्ट्रको पक्षमा विशेष प्रस्ताव, सडकमा सङ्घर्ष
  • जनकराज पाठक

नेपाल बौद्ध–हिन्दु सभ्यताको स्रोत हो । यी दुवै धर्मबीच निरन्तर सहकार्य र सद्भाव कायम गरेको मुलुक हो।

हजारौँ वर्ष अगाडिको यो सभ्यता र संस्कृति नेपालको मौलिक पहिचान हो। तर पश्चिमाहरूबाट सञ्चालित डलरवादीहरूले धर्म निरपेक्षताको आडमा यो सभ्यतालाई विस्थापित गर्न व्यापक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास गरिरहेका छन्।

हाम्रो सभ्यता र संस्कृति जोगाउन पनि नेपाललाई  हिन्दु राष्ट्र बनाउने हाम्रो कर्तव्य हुन आउँछ। सँगसँगै राप्रपाले हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि निरन्तर आफ्नो दबाब र पहल जारी राख्दै आएको सर्वविदितै छ । 

विश्वमा १ अर्ब ८० करोड हिन्दु र बौद्धमार्गीहरु छन् तर एउटा पनि सनातन धर्मको पहिचान भएको देश छैन । जबकि दर्जनौँ देशहरू धर्मसँग जोडेर स्थापित भएका छन्। नेपाललाई हिन्दु राष्ट्रको रूपमा कायम गर्दा विश्वभरका हिन्दु तथा बौद्ध मार्गीलाई सद्भाव र सम्मान कायम गर्न बल पुग्छ । जसले यो शक्तिको रूपमा पनि रहन्छ।

झन्डै दुई अर्ब हिन्दु तथा बौदमार्गीहरुको लागि नेपाल ठुलो तीर्थस्थल बन्न सक्छ। यति ठुलो तीर्थस्थलमा थोरै र सानो सङ्ख्यामा मात्र धार्मिक पर्यटक भित्र्याउन सकियो भने त्यसले नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुग्न सक्छ । 

साथसाथै हाम्रो पहिचान हाम्रो सम्पन्नताको लक्ष्य हुन सक्छ। धर्म निरपेक्षताको पक्षमा ठुला दलहरू निरन्तर क्रियाशील रहे पनि नेपाली जनताले हिन्दु राष्ट्रको पक्षधर राप्रपालाई साथ दिँदै आएका छन् ।  तर जनताको यो आवाजलाई निषेध गर्ने वा वास्ता नगर्ने गरी खेलबाड गर्ने प्रयास निरन्तर जारी छ।

यति धेरै नेपाली जनताको साथ र सहयोग हुँदाहुँदै पनि यो यथार्थतालाई बुझेर हामीले हिन्दु, बौद्ध, किरात, मुसलमान, सबैको सम्मान गर्दै नेपालको पहिचान हिन्दु राष्ट्र कायम गर्न व्यापक देशव्यापी रूपमा आन्दोलन गर्न किन सकिरहेका छैनौ ? यो आजको यक्ष प्रश्न पनि हो । 
 
सामान्यतः आफ्नो देशको पहिचान र जनताको आत्मसम्मान, स्वाभिमान र हक अधिकारलाई केन्द्र विन्दुमा राखेर राज्य सञ्चालन गर्ने चिन्तन राष्ट्रवादी चिन्तन हो, जुन हामीमा छ। यही चिन्तनको कारण हामी आफूलाई राष्ट्रवादी भन्छौ। यस्तो चिन्तन बोकेको हामी नेपालीको उन्नति र विकासको निमित्त हिन्दु राष्ट्र आवश्यक छ भन्ने बुझ्दाबुझ्दै र जान्दा,जान्दै पनि किन हामी सदनमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गरियोस् भन्ने विशेष प्रस्ताव पेस गर्दै यसको पक्षमा सडक सङ्घर्ष गर्न सकिरहेका छैनौ ? आश्चर्य त यहाँ छ।

जति कुरा गरे पनि, जसरी गरे पनि, जसले भने पनि मुख्य ३ कारण नेपाली जनताले राप्रपालाई मत दिएका हुन। नेपाल लाई सनातन हिन्दु राष्ट्र कायम गराउन, संवैधानिक राजसंस्था स्थापना गराउन र भ्रष्टाचार विरुद्ध निर्ममताको साथ लडाइ लड्न हामीले जनताको मत पाएको यथार्थ हो । 
आज यी ३ विषयलाई ओझेल पार्नु हुँदैन । त्यस कारण पनि हामीले सदनमा हिन्दु राष्ट्रको पक्षमा विशेष प्रस्ताव लग्दै यसकै लागि सडक आन्दोलन चर्काउन ढिलाइ गरिनु हुन्छ ।  यदि अबको विकल्प आन्दोलन रोजिएन भने त्यो नेपाली जनताप्रतिको राजनैतिक गद्दारी हुने छ।
(पाठक राप्रपाका निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी राप्रपाभित्र स्पष्ट वक्ताका रूपमा परिचित छन् ।)

प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - १२:३७:१० बजे

नयाँ लहर