Logo

शुक्रवार, भाद्र १९ गते २०८३

साउन १५ गते र खिर खाने  मौलिक तथा संस्कृत परम्परा

साउन १५ गते र खिर खाने  मौलिक तथा संस्कृत परम्परा

नयाँ लहर

१५, श्रावण २०८१
साउन १५ गते र खिर खाने  मौलिक तथा संस्कृत परम्परा
  • श्याम  घिमिरे

साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रूपमा चिनिने गरिन्छ । नेपालमा प्राचीन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रूपमा लिइने गरिएको पाइन्छ ।

 आयुर्वेद विज्ञानमा समेत खिरको महत्त्व निकै रहेको पाइन्छ । साउन १५ गते  खिर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र बिरामी पर्ने हुँदा रोगबाट छुटकारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाइन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ । वर्षायाममा विभिन्न सङ्क्रमण भई रोग लाग्ने गर्दछ ।

 त्यसैले रोग नलागोस् र सङ्क्रमण नहोस्, थकान नलागोस्, फुर्ती बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ । साउन गर्मी महिना भएको कारण पहिला – पहिला शरीरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ। यी यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन पनि साउन महिनामा दूध र दूधजन्य पदार्थको बढी नै सेवन हुने गरेको पाइन्छ ।

पहिला – पहिला गाउँघरमा मिठो मसिनो कमै खाइने र खान पनि कठिन हुने भएकोले खानामा सन्तुलित होस् भनेर शरीरलाई आवश्यक पर्ने सबै खाले खाना खाने चाडपर्वको व्यवस्था भएको पाइन्छ । यसले गर्दा सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्दत पुग्ने गरेको देखिन्छ । यी सबै कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाहरूले धेरै सोचबुझ गरेर चाडपर्वको महत्त्व विस्तार गरेको पाइन्छ । अनि आम नेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएता पनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिन सक्ने गरी कम्तीमा वर्षको एक दिन भए पनि खानु पर्ने गरी चाडपर्वको व्यवस्था भएको देखिन्छ। वैज्ञानिक तरिकाले पनि यो अति उत्तम मानिन्छ । यस अर्थमा पनि हाम्रा पू्र्खाहरु अत्यन्तै बुद्धिमान मान्न सकिन्छ ।

आजभोलि सबै किसिमका खानेकुराहरू सबै समयमा पाइने भएता पनि त्यसको सही उपभोग भएको पाइन्न । यसले गर्दा अन्य समस्या धेरै उत्पन्न भएको पाइन्छ । त्यस कारण पहिले पहिलेका चाडपर्वले गर्दा सन्तुलन भोजनको लागि लाभदायक भएको देखिन्छ । 

आजकाल चाडपर्व फेसनको रूपमा पनि मनाउने गरेको पाइन्छ । स्कुल, कलेज, अफिसमा पनि साथीभाइहरू मिलेर खिर खाने चलन बढेको छ । यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढी हुने गर्दछ । दैनिक उत्पादनको दुधले नपुग्ने भएकोले डेरी उद्योगहरूले दुई चार दिन अगाडिदेखि नै दूध भण्डारण गरी राख्ने र नपुगेमा धुलो दूध मिसाएर बजारमा लाने गर्दछन् ।

 हामी सबै मिलि सबै किसिमका चाडपर्वको संरक्षण गरी हाम्रा भावी पुस्तालाई राम्रोसँग यस्ता सबै किसिमका चाडपर्वको महत्त्व बुझाउनु पर्दछ । यसले हाम्रो देशको पहिचान दिनेछ । यसलाई सही तवरले परिचालन गर्न सक्ने हो भने विदेशी पाहुना ल्याउन समेत ठुलो मद्दत पुग्नेछ । हामीले अरूको देशको धर्म संस्कृतिको नक्कल गरेर आफ्नो देशका धर्म संस्कृतिलाई भुल्न हुँदैन । देशका सबै किसिमका चाड पर्व मनाऊँ, हाम्रो संस्कृति बचाउ। साउन १५ मा जहाँ भए पनि खिर अनिवार्य सेवन गरौँ ।

श्याम  घिमिरे  नेपाल डेरी एसोसिएशन बाग्मती प्रदेशका सचिव हुन् । 

प्रकाशित मिति :श्रावण १५, २०८१ मंगलवार - ०८:२८:२२ बजे

नयाँ लहर